Harsamaya
‘राते काँइला’को अपूरणीय बिदाई
ग्राफिक्स: नेपाल न्यूज बैंक ।

काठमाडौं - नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ ।

उनलाई विशेषगरी खलनायक भूमिकाका लागि जनप्रियता प्राप्त भयो । विशेषगरी नेपाली ब्लकबस्टर चिनो मा ‘राते काँइला’ को चरित्रले उनलाई घर–घरमा परिचित बनायो । यस भूमिकाले उनलाई ‘अन्तिम खलनायक’को रुपमा चलचित्रप्रेमीका मनमा गहिरो छाप छाड्न सफल रहयो ।

थापा केवल एक कलाकार मात्र थिएनन्, उनी नेपाली चलचित्रको एउटा युगीन अनुहार थिए । खलनायक वा चरित्र भूमिकामा देखिँदा उनले सिर्जना गर्ने प्रभाव दर्शकको स्मृतिमा रहिरह्यो। उनका पात्रहरू बोल्दैनथे मात्र, उनीहरू बोल्दा कथाले दिशा पाउँथ्यो । यही कारणले सुनिल थापा अभिनय होइन, चरित्र जिउँथे ।

विडम्बना नै भन्नुपर्छ, जीवनप्रति अझै उर्जा, उत्साह र योजना बोकेका कलाकार हामीबाट यति चाँडै बिदा भए । निधनको अघिल्लो दिनसम्म पनि उनी चलचित्र ‘रामनाम सत्य’ को सुटिङमा व्यस्त थिए । सहकर्मीहरूसँग हाँसेर कुरा गर्ने, भविष्यका प्रोजेक्टबारे चर्चा गर्ने उनी भोलिपल्ट बिहानै हामी सबैका लागि स्मृतिमा सीमित बने ।

चलचित्रप्रतिको उनको समर्पण अन्तिम क्षणसम्म देखिन्थ्यो। पर्दामा उनले जति कठोर पात्र निर्वाह गरे, वास्तविक जीवनमा उनी त्यति नै सरल, आत्मीय र सहयोगी थिए भन्ने कुरा उनका सहकर्मीहरूको स्मरणले प्रस्ट पार्छ । नयाँ कलाकारलाई हौसला दिने, अनुभव बाँड्ने र चलचित्रप्रति अनुशासन सिकाउने व्यक्तित्वका रूपमा पनि उनी परिचित थिए ।

थापाले नेपाली चलचित्रलाई केवल अभिनय मात्र दिएनन्, उनले चलचित्रलाई विश्वसनीयता दिए । खलनायक पात्रलाई कार्टुनजस्तो होइन, यथार्थजस्तो बनाउने साहस र क्षमता उनीसँग थियो । यही कारण उनका धेरै भूमिका कालजयी बने ।

चलचित्र उद्योगले एउटा अनुभवी स्तम्भ गुमाएको छ । यो क्षति शब्दमा व्यक्त गर्न कठिन छ । कलाकारहरू जान्छन्, तर उनीहरूले छाडेका पात्र, संवाद र प्रभाव सँधैं बाँच्छन् । सुनिल थापा अब पर्दामा देखिने छैनन्, तर उनले सिर्जना गरेका चरित्रहरू हरेक पटक नेपाली चलचित्र सम्झिँदा जीवित रहनेछन् ।

नेपाली चलचित्रले एक कर्मठ कलाकार मात्र होइन, एक समर्पित सहयात्री गुमाएको छ । उनको अभाव लामो समयसम्म महसुस हुनेछ । थापा पर्दाबाट ओझेल भए, तर स्मृतिबाट कहिल्यै होइन।

प्रारम्भिक जीवन र पृष्ठभूमि
१९मे१९५७ मा जन्मिएका वरिष्ठ कलाकार थापा नेपाली चलचित्र उद्योगका एक प्रतिष्ठित अभिनेता थिए, जसले चार दशकभन्दा बढी समय नेपाली, हिन्दी तथा बिभिन्न दक्षिण एसियाली फिल्महरूमा काम गरे । उनले आफ्नो प्रारम्भिक जीवन भारत र नेपाल दुबैमा बिताएका थिए र जहाँबाट पछि चलचित्र क्षेत्रमा चम्किला कदम चाले । थापाले अभिनय अघि विभिन्न क्षेत्रहरूमा पनि काम गरे। उनले मुम्बईमा मोडलिङ बाट आफ्नो करियर सुरु गरे। १९७० को दशकमा बिन्नी र मफतलाल जस्ता ब्राण्डको फेसका रूपमा देखिएका थिए।

त्यस्तै, उनी प्रोफेशनल फुटबल खेलाडी पनि हुन्; इन्च मुम्बईका क्लबहरूका लागि खेल खेलेका थिए । साथै उनले फोटो पत्रकारको रूपमा जेएस म्यागेजिनमा काम गर्दै भुटान सम्राज्ञीको समारोह समेत कवरेज गरेका थिए।

चलचित्र यात्रा
उनले नेपाली चलचित्रमा मात्र नभई भारतीय चलचित्र उद्योगमा पनि आफ्नो पहिचान बनाएका थिए । पहिलो ठूलो अवसर बलिउड फिल्म ‘एक दुजे कि लिए’बाट प्राप्त भए पनि नेपाली फिल्म ‘चिनो’ मा ‘राते काँइला’ को भूमिकाले उनलाई घर–घरमा परिचित बनायो । त्यसपछि उनले दर्जनौँ फिल्महरूमा अभिनय गर्दै खलनायक र चरित्र कलाकारको भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनले ३०० भन्दा बढी नेपाली चलचित्रहरूमा अभिनय गरेका छन् ।

पुरस्कार र सम्मान
थापाले नेपाली चलचित्रका धेरै प्रतिष्ठित पुरस्कार जितेका छन्। उनले ‘म्यारी कोम’मा नेपाली प्रशिक्षकको भूमिकाका लागि ‘फिल्म फेयर अवार्ड’मा मनोनयन समेत पाए । यसबाहेक, ‘नेफ्टा’र अन्य अन्तर्राष्ट्रिय पुरस्कारहरूले उनको अभिनय क्षमता र योगदानको मान्यता दिएका छन्।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update