Harsamaya
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौँ - देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज पहाडी र हिमाली भू–भागको मौसममा फेरबदल देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु फैलिएको छ भने कोशी प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिएको छ ।

आज दिउँसो तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यसक्रममा ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने सम्भावना रहेको छ ।

रातिको समयमा तराईका थोरै स्थानमा हुस्सु देखिन सक्नेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाले कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा राति पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update