सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १ स्थित भोटेचौरमा रहेका ७ वटा विद्यालयका विद्यार्थीले न्यानो कपडा पाएका छन् । 'सेवा नै धर्म हो' भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक दि हेल्पिङ ह्याण्ड्स र आर. वाई. फाउण्डेसनको संयुक्त पहलमा मंगलबार एक विशेष वितरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय ७ वटा विद्यालय (सरस्वती मावि, सेतीदेवी मावि, जननेश्वरी, शिवपुरी, सिद्देश्वरी, भूमेश्वर र जलकेश्वरी आधारभूत विद्यालय) का करिब ४५० विद्यार्थीहरूलाई जाडो लक्षित न्यानो कपडा वितरण गरिएको हो। बालबालिकाहरू न्यानो कपडा पाएपछि हर्षित देखिएका थिए। कार्यक्रममा विद्यार्थीका साथै स्थानीय महिलाहरूलाई स्वेटर र पञ्चे बाजा समूहलाई समेत विशेष पोशाक प्रदान गरिएको थियो।
रमिला शर्मा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन हिरा प्रसाद गुप्ता प्रमुख अतिथिको रूपमा रहेका थिए । कार्यक्रममा वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले विशिष्ट अतिथिको आसनबाट बोल्दै दाताहरूलाई धन्यवाद ज्ञापन गरे । सहयोगी हात फैलाउने लायन जीवनलाल शर्मा पौडेलले स्थानीय स्तरमा देखिएको यो सहकार्यले शिक्षा क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
विव्यास अध्यक्ष कुमार प्रसाद चौलागाईले समुदाय र सामाजिक संस्थाहरू बीचको यस्तो समन्वयले नै शिक्षाको विकास सम्भव रहेको बताए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रमिला शर्माले लायन्स क्लबले सधैं समुदायको आवश्यकतालाई प्राथमिकता दिने बताए । आफू जन्मेको ठाँउमा सेवा गर्न पाउँदा खुसि लागेको उनले बताए । सो अवसरमा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरू अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

