अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ ।
ट्रम्पले सामाजिक सञ्जाल सोसलमार्फत भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति भएको जनाएका छन् । साथै भारतले रुसबाट तेल खरिद रोक्ने निर्णय पनि गरेको ट्रम्पको भनाइ छ ।
रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् । यो घोषणा भारत र युरोपेली सङ्घबिच झन्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो । ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।
यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । ‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद,’ मोदीले एक्समा लेखेका छन्, ‘दुई ठुला अर्थतन्त्र र विश्वका ठुला लोकतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले फाइदा पाउँछन् ।’ ट्रम्पका अनुसार मोदीसँग भएको फोन वार्तामा व्यापारका साथै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको थियो ।
यसअघि अमेरिकाले अगस्टमा भारतमाथि ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो, जुन एसियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च थियो । त्यसमा रुसबाट तेल खरिदसँग जोडिएको २५ प्रतिशत अतिरिक्त कर पनि समावेश थियो ।

