Harsamaya
आज विश्व सिमसार दिवस विश्वभर मनाइँदै
सिमसार क्षेत्र ।

काठमाडौं - आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बुझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ ।

राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्छन् ।

नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो । कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् ।

यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन्। तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update