काठमाडौं - वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्म समीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।
उनले सहिदका सपना कागजमा होइन, व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने उनले बताए । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित राष्ट्रिय सहिद दिवस–२०८२ तथा जेनजी सुशासन योद्धा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिदलाई एक दिनमात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरे ।
सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उहाँले उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा उनले राखे । “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ । कुनै भूगोल, कुनै क्षेत्र किन पछाडि परिरहेको छ भन्ने कुरा गम्भीरतापूर्वक बुझ्नुपर्छ ।” उनले भने, “राज्यले आफ्ना सबै नागरिकका हक अधिकार समान रूपमा सुनिश्चित गर्नुपर्छ ।” मन्त्री चौलागाईँले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र व्यक्ति भएको स्पष्ट पार्दै राज्यको बेवास्ताका कारण नागरिकहरू सडकमा आउन बाध्य हुने अवस्था सृजना भएको जिकिर गरे ।

