काठमाडौं - पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६–१६) पहिलो पटक ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ।
नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न गरिनेछ ।
नेपालको यज्ञीय इतिहासमा नै पहिलो पटक हुन लागेको यस विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछ। गुरुदेव महेश चैतन्यका अनुसार यो महायज्ञ केवल कर्मकाण्ड मात्र नभई वैज्ञानिक प्रक्रिया पनि हो।
उनले भने, ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्नेछ । यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउनेछ।’
यस ११ दिनसम्म चल्ने महायज्ञमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन्। तीमध्ये ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन्। साधकहरूले व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर समान फलका भागीदार हुने व्यवस्था छ।
महायज्ञमा श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजाजस्ता गतिविधिहरू हुनेछन्। गुरुदेव महेश चैतन्यका अनुसार, भगवान राम, कृष्ण लगायत विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने र राष्ट्रको गौरव पुनः जागृत गर्ने विश्वास गरिएको छ।
श्रीविद्या के हो ?
श्रीविद्या ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो। यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्दै आएका छन्। भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए। गुरुदेव महेश चैतन्यका अनुसार यो साधना अत्यन्त कठिन छ (दैनिक १४–१५ घण्टा) र ब्रह्मचर्यको पालन आवश्यक छ ।
गुरुदेव महेश चैतन्यले भने, ‘धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ। यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ। नेपालको यो दुर्लभ कार्यक्रम साधनाद्वारा जागृत भई देशको कल्याण निश्चित हुनेछ।’

