Harsamaya
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

उजुरीमा निगम ऐन २०१९ को दफा ८(क) विपरीत प्रक्रिया अपनाई महाप्रबन्धक नियुक्ति गर्न खोजिएको दाबी गरिएको छ ।

उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।

 निगममा कार्यरत कर्मचारीभन्दा कनिष्ठ व्यक्तिलाई महाप्रबन्धक बनाउने गरी योग्यता तोकिएको र त्यसका लागि नियमावलीसमेत परिवर्तन गरिएको दाबी उजुरीमा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छनोट समितिले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरी सूची सार्वजनिक गरेको भए पनि सो सूची नै कानुनविपरीत रहेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update