Harsamaya
निर्वासनबाट हसिनाले गरिन् बङ्गलादेशी चुनावको आलोचना
बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिना ।

एजेन्सी - बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छिन् । आफ्नो दल अवामी लिगलाई चुनावबाट प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको भनाइ छ ।

सन् २०२४ मा विद्यार्थी आन्दोलनमाथि गरिएको दमनका कारण अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले गत हप्ता एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने चेतावनी दिएकी थिइन् । 

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी पूर्व सत्तारूढ अवामी लिगलाई चुनाव प्रक्रियाबाट बाहिर राखेर लाखौँ समर्थकलाई मताधिकारबाट वञ्चित गरेको हसिनाको दाबी छ । उनका अनुसार ठूलो जनसमूहलाई राजनीतिक सहभागिताबाट हटाउँदा असन्तुष्टि गहिरिन्छ, संस्थाहरू कमजोर बन्छन् र भविष्यमा थप अस्थिरताको आधार तयार हुन्छ ।

हसिनाले बहिष्करणबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने स्पष्ट गरेकी छिन् । 

फेब्रुअरी १२ मा हुने निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । दशकौँयताकै सबैभन्दा महत्त्वपूर्ण मानिएको यो निर्वाचन सामूहिक विद्रोहपछि हसिना सत्ताबाट हटेपछि पहिलो पटक हुन लागेको हो । अन्तरिम प्रशासनले निर्वाचनको निगरानी गरिरहेको छ भने मतदाताले प्रस्तावित संवैधानिक सुधारसम्बन्धी जनमतसङ्ग्रहमा पनि मत दिनेछन् ।

अगस्ट ५, २०२४ मा हिंसात्मक आन्दोलनपछि हसिना भारत भागेको तीन दिनपछि युनुसले बङ्गलादेश फर्किएर पदभार सम्हालेका थिए । उनले स्वतन्त्र र निष्पक्ष चुनावको प्रतिबद्धता जनाएका छन् । तर आलोचकहरूले अवामी लिगमाथिको प्रतिबन्धका कारण निर्वाचन साँच्चै समावेशी हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update