Harsamaya
चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर सार्वजनिक
चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर ।

काठमाडौं - चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर सार्वजनिक भएकाे छ । चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।

निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् । प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याँइरहेको देखिन्छ ।

श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ । महाशिवरात्रिको छेको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत–नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ’शिवांश’मा समावेश ’शिव ताण्डव स्तोत्रम्’ गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा अञ्जान केसीले लेखेकी हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्र चौतारीको पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update