Harsamaya
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
काठमाडौंमा वर्षा ।

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । अहिले काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो । 

यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । 

जसका कारण जनजीवन प्रभावित भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो ।

प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताउनुभएको छ । अहिले पछिल्लो १ घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा बढी वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र विस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने जनाइएको छ ।

आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । 

भोलि बिहीबार तराई भूभागका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताए । 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update