तनहुँ - आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ ।
डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कंकाल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
उनका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र भएको मानव कङ्काल फेला परेको हो । फेला परेको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।
सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि उक्त बसका पाटपुर्जा देखिएपछि खोजीकार्य तीव्र पारिएको थियो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो ।
विसं २०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकैबाट लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
दुवै बसका ६५ यात्रुमध्ये गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अन्य सबै बससँगै बगेका थिए ।

