Harsamaya
पश्चिमी वायु सक्रिय: पहाड–हिमालमा वर्षा र हिमपात, तराईमा चट्याङको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा।

काठमाडौँ - पश्चिमी वायुको आंशिक प्रभाव बढ्दै जाँदा देशका पहाडी र हिमाली भू–भागमा मौसम परिवर्तनशील बन्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादलको प्रभाव रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्छ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update