हेटौँडा - हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा कमाने एक्सपर्ट भिजन–११ ले प्रतियोगितामा पहिलो जित दर्ता गर्दा कमाने लायन्सले लगातार दोस्रो विजय हात पारेको छ । आइतबार भएको खेलमा एक्सपर्ट भिजन–११ ले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा कमाने राइडर्सलाई ७१ रनले पराजित गर्दै जितको खाता खोलेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजित ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए । बलिङतर्फ एक्सपर्ट भिजनका असिम श्रेष्ठ, सञ्जीव थापा र सागर मगरले समान २–२ विकेट लिए । १८७ रनको लक्ष्य पछ्याएको कमाने राइडर्स १९.५ ओभरमै ११६ रनमा अलआउट हुन पुग्यो ।
राइडर्सका लागि विष्णु राउतले सर्वाधिक ३३ रन बनाए। बलिङमा नवी आलमले २ विकेट, प्रविन घिमिरे र रामनरेश गिरीले १–१ विकेट लिए । उत्कृष्ट प्रदर्शनका कारण सञ्जीव थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए । यसअघि उद्घाटन खेलमा एक्सपर्ट भिजन–११ कमाने इप्लानेट ब्लास्टर्ससँग ६ विकेटले पराजित भएको थियो ।
यस्तै, आइतबारकै अर्को खेलमा कमाने लायन्सले कमाने थर्डआइलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । पहिले ब्याटिङ गरेको कमाने थर्डआइले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
११४ रनको लक्ष्य लायन्सले १०.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । लायन्सका लागि शुभ कंसाकारले ७६ रनको धमाकेदार इनिङ खेले। साथै, उनले बलिङतर्फ ११ रन खर्चेर ४ विकेट लिँदै अलराउन्डर प्रदर्शन गरे र प्लेयर अफ द म्याच ८८ घोषित भए ।
कंसाकार प्रतियोगितामा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि शनिबार कमाने रोयल्सविरुद्धको जितमा पनि उनी नै उत्कृष्ट घोषित भएका थिए । हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ ।

