काठमाडौं - आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको खेलमा नेपाल आज स्कटल्यान्डसँग खेल्दै छ ।
बिहान ९ बजेदेखि नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आइसिसी महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ ।
नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण युएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।
नेपालले हालसम्म स्कटल्यान्डसँग टी-२०आइसिसी मा खेलेको छैन । प्रतियोगिताअघि नेपालले अभ्यास खेल भने खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।

