Harsamaya
भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक 
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायत ।

 काठमाडौं - काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एउटा ठाउँको सांस्कृतिक सम्पदासँग अर्को ठाउँको धार्मिक सांस्कृतिक सम्बन्ध काठमाडौँको अद्वितीय विशेषता भएको बताएकी छिन् । शनिबार वडा नं. ५ मा रहेको भाटभटेनीमा रहेको झुण्डिएको देवतामा आधारित परिचयात्मक वृत्तचित्र लोकार्पण गर्दै उनले सामाजिक सदभाव बढाउने यस्ता क्रियाकलापलाई जीवन्त परम्पराका रुपमा चर्चा गरिन् । 

पहिचानसँग जोडिएको मौलिकता र विकास भइसकेको आधुनिकताको कुरा गर्दै उनले नरःदे (हाँडीगाउँ) र जयवागेश्वरीका निजी तथा सार्वजनिक भवनहरुको अग्रमोहडा (फसाड) सुधारको काम थालिएको बताइन् ।  

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले, नरःदे (हाँडीगाउँ)को मौलिकता फर्काउन आउँदो २० वर्षभित्र गरिने पुनःस्थापनाका कामलाई गुरुयोजनामार्फत अगाडि बढाउने बताए ।  यसको प्रारम्भमा भवनको अग्रमोहडा परिवर्तन, पोखरी, हितीको पुनस्थापना, खेलमैदानलगायत पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिए ।  

वृत्तचित्र प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । किराँतकालदेखिका सभ्यता पाइने नरःदे (हाँडीगाउँ) मा देवतासँग मानिसको सम्बन्ध देखाउने अनेक कथा, किंवदन्ती तथा धार्मिक र तान्त्रिक विद्यामा आधारित मूर्त र अमूर्त विषय छन् । प्राचीन विशालनगरसँग सम्बन्ध जोडिएको भाटभटेनी झुण्डिएका देवता यसको उदाहरण हो ।   

भाटलाई आकाश भैरव र भटेनीलाई आकाश देवी मानिन्छ । यी देवीदेवताका एक सन्तान पनि छन् । उनलाई बालगोपालेश्वर मानिन्छ । यसले गृहस्थ जीवन र बात्सल्य प्रेमलाई झल्काउँछ । मूर्ति झुण्ड्याएको अवस्थामा हुनुलाई आकाशगामी अवस्थामा देवीदेवतालाई झुण्ड्याएर राखिएको मानिन्छ । 

वृत्तचित्रमा मूर्ति केबाट बनाइएको हो भन्ने कुरा अनभिज्ञ रहेको उल्लेख गरिएको छ । हरेक वर्ष मूर्तिलाई रंगरोगन गर्दै जाँदा मूर्तिको भित्री बस्तु छोपिएका कारण अनभिज्ञता रहेको कार्यक्रममा सहभागीले बताए । 

महामारीका बेला बालबालिकालाई बचाउन, बच्चा रोइरहने भए वा विरामी भइरहने भए भने त्यसबाट जोगाउन भाटभटेनीको भाकल गर्ने चलन छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update