Harsamaya
पब्लिक डिबेटका लागि तयार छु : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका छन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउनेतर्फ बाट मैदानमा छ।’ 

उनले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबिच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने बताएका छन् ।

‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दल पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्, देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’  उनले भनेका छन्,

ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु ।’

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update