काठमाडौँ - देशभर पश्चिमी वायूको प्रभाव जारी रहँदा मौसममा आंशिक परिवर्तन देखिएको छ । सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आकाशमा बादल लागेको छ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहेको छ । सुदूरपश्चिमका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । यस क्रममा हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ । साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ ।
आज राति पनि पहाडी तथा हिमाली भू–भागमा बदलीको अवस्था कायम रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका सीमित स्थानमा हल्का हिमपात वा वर्षा दोहोरिन सक्ने महाशाखाको पूर्वानुमान छ । मौसममा देखिने यस परिवर्तनले चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

