Harsamaya
उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं - निर्वाचन आयोगले आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दै छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ भने आजै दिनको १-३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । अपराह्न ४-७ सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकै पटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update