काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रस्तावित प्रतिनिधिसभा उम्मेद्वार शेरबहादुर तामाङले पार्टीको पछिल्लो महाधिवेशनले एमाले अझै सशक्त, समावेशी र जनआधारित पार्टी भएको स्पष्ट सन्देश दिएको बताए ।
भदौ २३–२४ मा भएको विध्वंशपछि पार्टीलाई पुन जनतामाझ परीक्षण गर्नुपर्ने आवश्यकता महसुस भएकाले नियमित समयभन्दा अगाडि महाधिवेशन गरिएको उनको भनाइ छ । देशव्यापी कार्यक्रममार्फत जनमत जाँचेर मात्रै महाधिवेशनमा जाने निर्णय गरिएको उनले बताए ।
भक्तपुरको सल्लाघारीमा सम्पन्न महाधिवेशन उद्घाटन सत्रमा देखिएको विशाल जनसहभागिताले ‘पुराना पार्टी समाप्त भए’ भन्ने भ्रम चिर्दै एमाले अझै भूगोलमै मजबुत रहेको प्रमाणित भएको तामाङको दाबी छ ।
सामाजिक सञ्जालमा देखिने भ्यु र वास्तविक जनसमर्थनबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले एमाले गूगलमा होइन, भूगोलमा बसेको पार्टी भएको बताए ।
महाधिवेशनले युवापुस्ताको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गर्दै उनले अन्डर–४० उमेर समूहलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था ऐतिहासिक भएको बताए ।
जनसंगठनदेखि केन्द्रीय कमिटीसम्म युवा, महिला, जनजाति, दलित, मधेसी, थारु, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको उनको भनाइ छ । यसरी निर्वाचित केन्द्रीय कमिटी समावेशीताको नमुना बनेको उनले बताए ।
तामाङले महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी आक्रमणलाई राजनीतिक रूपमा खारेज गरेको दाबी गरे। अध्यक्ष लोकप्रियताका कारण मात्रै टिकेको होइन, पार्टी र राष्ट्रको आवश्यकताका रूपमा पुन स्थापित भएको सन्देश महाधिवेशनले दिएको उनको भनाइ छ । “एमालेको मात्र होइन, राष्ट्रकै आवश्यकता केपी ओली हो भन्ने कुरा स्थापित भएको छ,” उनले भने ।
राजनीतिक दलहरूमा हुने विभाजनलाई दुर्भाग्यपूर्ण बताउँदै तामाङले मुख्य दल फुट्दा देशमै नकारात्मक असर पर्ने इतिहास रहेको उल्लेख गरे । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विभाजन असामान्य र बाह्य हस्तक्षेपको परिणाम भएको उनको आरोप छ ।
भदौ २३–२४ को विध्वंशलाई नेपाली जनताले समर्थन नगरेको र त्यसको जिम्मा कसैले नलिएको भन्दै, त्यस्ता घटनाबाट जन्मिने पार्टीहरूले निर्वाचनबाटै वास्तविकता भोग्ने उनले बताए ।
सरकार गठन असंवैधानिक तरिकाले भएको दाबी गर्दै एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको उनले स्मरण गराए । तर निर्वाचनको प्रक्रिया अगाडि बढेपछि एमाले प्राविधिक तयारीमा सहभागी हुँदै आएको र अहिले पूर्ण रूपमा निर्वाचनका लागि तयार रहेको उनले बताए । सबै उम्मेदवार तय भइसकेको र फागुन २१ मै निर्वाचन हुनुपर्ने एमालेको अडान रहेको उनले स्पष्ट पारे ।
महिला प्रतिनिधित्वको सवालमा संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत व्यवस्था समानुपातिक प्रणालीमार्फत पूरा गरिने तामाङले बताए । प्रत्यक्षतर्फ महिलाको संख्या अपेक्षाकृत कम हुनु सामाजिक संरचनाको परिणाम भएको उल्लेख गर्दै उनले समाज परिवर्तन एकैचोटि सम्भव नहुने बताए । तर सुधारको दिशामा समाज अघि बढिरहेको र महिला नेतृत्व विस्तार हुँदै जाने उनको विश्वास छ ।
नेपाली जनता आक्रोशित छन् भन्ने कथनलाई पूर्ण रूपमा अस्वीकार गर्दै तामाङले जनताले स्वतःस्फूर्त रूपमा हिंसा नगरेको जिकिर गरे । भदौ २३–२४ को घटनाले देशलाई आर्थिक रूपमा चार–पाँच खर्ब बराबरको क्षति पु¥याएको र विकासको गति करिब २० वर्ष पछाडि धकेलिएको उनले बताए । यद्यपि नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश भएकाले निराश नहुन आग्रह गर्दै, गाली–गलौज र विभाजनको राजनीति होइन, सौहार्दपूर्ण प्रतिस्पर्धामार्फत मुलुक अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

