पनौती - नेपाल डेरी एशोसिएशनको २७ औँ वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्य तथा अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने सहयोगीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरूलाई प्रदेश सरकारले समेत थप व्यवस्थित र अनुदानमुखीभन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए ।
वर्षे नि उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र व्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा अध्यक्ष प्रह्लाद दाहालले नेपालको दुग्ध डेरी व्यवसायको अवस्था, कृषक र व्यवसायीहरूले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरू अमरबहादुर कुँवर, सुमति केडिया लगायतका व्यक्तिहरूले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए ।
सोही अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरूले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए । सिमरामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा गहन छलफल
काठमाडौं - राष्ट्रिय साना सहकारी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीहरू र सिमरा खानेपानी सहित पाँच वटा खानेपानी संस्थाबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबिच खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे गहन छलफल सम्पन्न भएको छ ।
सिमरा खानेपानी संस्थाको कार्यालयमा आयोजित छलफलमा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरूबारे विस्तृत विचार–विमर्श गरिएको थियो । छलफलका क्रममा स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षताको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयहरू उठान गरिएको थियो ।
त्यसै गरी, साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई कसरी सुदृढ बनाउने, क्षमता विकास, सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उपायहरूबारे समेत धारणा आदान–प्रदान गरिएको थियो । महासंघका पदाधिकारीहरूले संघीय संरचनाभित्र खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा संस्थाहरूको आवाज मजबुत बनाउने तथा प्रदेश र स्थानीय तहसँग सहकार्य विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
छलफलका क्रममा सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र विद्यमान समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल अपरिहार्य रहेको स्पष्ट पारेको थियो । छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई सुदृढ बनाउन तथा संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्न महत्त्वपूर्ण योगदान पुगेको निष्कर्ष निकालिएको छ ।

