सुर्खेत - कालिकोटमा चुनावी माहोल एकाएक फेरिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीका लागि जीवन बुढाको उम्मेदवारी भारी हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैंछ ।
नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले टिकट ल्याएपछि विवाद चुलिएको हो । शाही र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भईसकेका हुन् भने शाही २०७० सालदेखि निरन्तर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्दै आएका थिए ।
सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा भए पनि बुढालाई रोक्न शाहीले प्रचण्डलाई कालिकोटबाट चुनाव लडाउने भन्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए । प्रचण्डले रुकुम पूर्व रोजे पछि कालिकोटमा विवाद चुलिएको थियो । मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आएपछि बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता पछि सधै अरुलाई अवसरबाट बञ्चित गर्न खोज्ने प्रवृत्तीकोविरुद्व आफ्नो उम्मेदारी भएको बुढाले बताए । ‘यो पार्टीभित्रको अन्यायविरुद्वको आवाज हो’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउने खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो ।’
नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेस नेता भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा टिकट पाएका शाहीले यो पटक टिकट पाएनन् । नेपाली कांग्रेसको आन्तरिक समीकरण फेरिएपछि पूर्व पार्टी सभापति हर्षबहादुर वमले टिकट पाएका छन् ।

