सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनेका तीनै जना नेताले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी सुनिश्चित गरेका छन्।
१४औँ जिल्ला अधिवेशनको पहिलो चरणमा वर्तमान सभापति जंगबहादुर लामा, महासमिति सदस्य वंशलाल तामाङ र प्रेमध्वज लामा जिल्ला सभापतिका दावेदार बनेका थिए। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि अधिवेशन दोस्रो चरणमा प्रवेश गरेको थियो।
दोस्रो चरणको मतदानमा जंगबहादुर लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका थिए। कुल १,७८७ मत खसेकोमा लामाले ९१२ मत प्राप्त गर्दा तामाङले ८४८ मत ल्याएका थिए।
त्यतिबेला जंगबहादुर लामालाई कांग्रेस नेता मोहनबहादुर बस्नेतको समर्थन रहेको थियो भने वंशलाल तामाङलाई प्रेमध्वज लामा लगायत नेताहरूले समर्थन गरेका थिए। अब नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ।
यसपटक कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री मोहनबहादुर बस्नेत टिकटबाट वञ्चित भएका छन्। क्षेत्रीय समितिले बस्नेतको नाम एकल सिफारिस गरेपनि जिल्ला समितिले जंगबहादुर लामा र महेन्द्र लामासहितको नाम केन्द्रमा पठाएको थियो। विशेष अधिवेशनमा सहयोग गरेबापत वंशलाल र जंगबहादुरले टिकट पाएका हुन् ।
उता, नेकपा एमालेले क्षेत्र नम्बर–१ मा सरेश नेपाल र क्षेत्र नम्बर–२ मा शेरबहादुर तामाङ, माओवादी केन्द्रले क्षेत्र नम्बर–१ मा माधव सापकोटा र क्षेत्र नम्बर–२ मा युवराज दुलाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्षेत्र नम्बर–१ मा भरत पराजुली र क्षेत्र नम्बर–२ मा अजय श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले क्षेत्र नम्बर–१ मा राममणि न्यौपाने र गोपीकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएको छ।
यता, जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका प्रेमध्वज लामालाई नेपाली कांग्रेसले सिन्धुपाल्चोकबाट समानुपातिक तर्फको उम्मेदवार बनाएको छ।

