Harsamaya
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले नवीन कांग्रेस निर्माणका लागि सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध हुन आह्वान गरेका छन्।

सभापति लामाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।

विज्ञप्तिमा नेपाल र नेपालीको सुन्दर भविष्य निर्माणका लागि दूरदर्शी र साहसी नेतृत्वले नवीन कांग्रेस निर्माणको जग बसालेको उल्लेख गर्दै, त्यस यात्रामा साथ, समर्थन र सहयोग गर्ने सम्पूर्ण साथीहरूप्रति धन्यवाद व्यक्त गरिएको छ। फरक मत र विचारलाई सम्मान गर्नु नेपाली कांग्रेसको आधारभूत सिद्धान्त भएको पनि विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक विवादको न्यायिक निरूपण नभएसम्म व्यक्तिको स्वतन्त्रताअनुसार जनसामु धारणा राख्न पाउने अधिकारलाई स्वीकार गर्नुपर्नेमा जोड दिँदै, पार्टी, देश र जनताप्रति समर्पित भई चारित्रिक खण्डा र व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा सभापति लामाले आग्रह गरेका छन्।

विज्ञप्तिमा विशेष महाधिवेशनका क्रममा भएका तिता-मिठा विषयलाई बिर्सेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न नेपाली कांग्रेस सिन्धुपाल्चोकका सम्पूर्ण नेता-कार्यकर्तालाई आग्रह गरिएको छ।

oo-1768700909.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update