सुदूरपश्चिम - आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टीका प्रदेश सचिव जनक बुढाका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ । यस्तै, कञ्चनपुर निर्वाचन–१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ ।
अछाम निर्वाचन क्षेत्र नं १ मा डा भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुङ्गो लागेको पनि बुढाले बताए। यसै गरी, डोटीमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेलधुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुङ्गो लागेको छ । यस्तै कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुङ्गो लाग्ने नेता बुढाले बताए ।

