Harsamaya
जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईंलाई

रामेछाप - यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ भने गत वर्षको सोही पुरस्कार साहित्यकार मीना चौलागाईंलाई प्रदान गरिएको छ । शनिबार मन्थलीमा सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा दुवै साहित्यकारलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानका अनुसार गत वर्ष पुरस्कार घोषणा हुन नसकेकाले यस वर्ष दुई वर्षका पुरस्कार एकै कार्यक्रममार्फत प्रदान गरिएको हो ।

प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरेलगायतका स्रष्टाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार र विद्यार्थीहरूबिच वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

नयाँ पुस्तामा साहित्य, विचार र अभिव्यक्ति कलाप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा रामेछापसहित देशका विभिन्न जिल्लाबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वरिष्ठ साहित्यकार जगदीश घिमिरेले जीवनकालमै स्थापना गर्नुभएको प्रतिष्ठानले उहाँको साहित्यिक चिन्तन र अभियानलाई निरन्तरता दिँदै आएको छ ।

मल्टिपल माइलोमा क्यान्सरबाट पीडित भएपछि उनले २०६३ सालदेखि हरेक वर्ष हिउँदमा मन्थलीमा साहित्य सम्मेलन आयोजना गर्दै राष्ट्रिय तथा स्थानीय साहित्यकारलाई एउटै मञ्चमा जोड्ने प्रयास गर्दै आएका थिए ।घिमिरेको चर्चित कृति अन्तर्मनको यात्रा ले  वि.सं. २०६४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । उक्त कृतिले उत्तम शान्ति पुरस्कारसमेत पाएको छ । उनी मैनाली कथा पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

वि.सं. २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरेको २०७० कात्तिक १४ गते ६८ वर्षको उमेरमा काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update