काठमाडौं - नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएपछि आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।
गत पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

