Harsamaya
सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता
सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता ।

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबिच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चार मन्त्री खरेलले जानकारी दिए ।

सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरूबिच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावकारी बनाउँदै जनताको आकाङ्क्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।

सञ्चार मन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठुला राजनीतिक दलका शीर्ष नेताहरूसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गरिरहेका छन् ।

उनले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरूसँग पनि चरणबद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारको तर्फबाट सबै खाले तयारी भएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update