Harsamaya

नेपालमा साना र मझौला परिमाणका भूकम्प धेरै जाने गरेका छन् । विभिन्न समयमा विनाशकारी ठूला भूकम्पहरू समेत जाने गरेका छन् । ती भूकम्पहरूमा परेर नेपालले ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति भोग्नुपरेको छ । नेपाल अवस्थित रहेको भूखण्ड भूकम्पका दृष्टिले संवेदनशील क्षेत्र रहेकोले यहाँ भूकम्प गइराख्छ । भूकम्प रोक्न सकिन्न तर यसबाट हुन सक्ने जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ । भूकम्पका बारेमा आमरूपमा सचेतना अभिवृद्धि तथा भूकम्पीय सुरक्षाका लागि जोखिम न्यूनीकरण र पूर्वतयारीका प्रभावकारी उपायहरु अवलम्बन गरेर भूकम्पको जोखिम कम घटाउन सकिन्छ ।

वि.सं १९९० माघ २ गते गएको ८.३ परिमाण(म्याग्निच्युड) को महाभूकम्पलाई नेपालको आधुनिक इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्पका रुपमा लिइन्छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। नेपालमा वि.सं. १९९० सालको महाभूकम्पको संस्मरणमा वि.सं. २०५५ सालदेखि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । भूकम्प सुरक्षा दिवस आइरहेको सन्दर्भमा प्रमुख, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र , खानी तथा भूगर्भ विभाग डाक्टर लोक विजय अधिकारीसँग गरिएको कुराकानी । 

माघ २ गते भूकम्प सुरक्षा दिवस कसरी मनाउँदै हुनुहुन्छ  ?
सधैं जस्तो राष्ट्रिय भूकम्प सुरक्षा दिवस राष्ट्रिय कार्यक्रम हो । गृह मन्त्रालयको संयोजकत्वमा गृह मन्त्रालय अन्तर्गत सबै निकायहरुले मनाउने गरिन्छ । यो वर्ष पनि सधैंझैँ माघ २ गते मूल कार्यक्रम हुन्छ र त्यसको वरीपरी अरु विभिन्न भूकम्प सम्बन्धी जनचेतना मुलक कार्यक्रम, सेमिनार, वर्कसप, सभा-गोष्ठीहरु गरिन्छ ।

यो दिवस किन मनाइने गरिन्छ ?
नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्छ । जहाँ विगतमा ठूला-ठूला विनाशकारी भूकम्पहरू गएका छन् । जस बाट धेरै जनधनको क्षति भएको छ । पछिल्लो पटक ०७२ मा ठूलो भूकम्प गएर जनधनको ठूलो  क्षति भयो । लगतै जाजरकोटमा गएको भूकम्पले पनि ठूलो मानवीय र भौतिक क्षति गरेको छ । नेपालमा भूकम्प निरन्तर रुपमा गइरहेको छ । अब भविष्यमा पनि गइरहने सम्भावना रहिरहन्छ । त्यसैले भूकम्पबाट हुने क्षतिलाई कसरी कम गर्ने भन्नेतर्फ लाग्न एकदमै जरुरी देखिन्छ । त्यसका लागि एक दिन सम्झिएर र कुनै कार्यक्रम गरेर मात्रै हुँदैन । त्यस्ता कार्यक्रमहरुलाई जनमानसमा भूकम्पीय जोखिममा छौं भन्ने देखाउनु पर्यो । भूकम्पीय जोखिमबाट कसरी बच्ने अथवा जोखिमलाई कसरी कम गर्ने भन्ने कुरा जनमानसमा सूचना प्रवाह गर्न जागरुक गर्नका लागि यो कार्यक्रमको ठूलो महत्व रहन्छ । 

नेपालमा गएका ठूलाठूला भूकम्प सम्झिनु पर्दा कहिले-कहिले गइका छन् ?
सबै भन्दा पुरानो भूकम्प १२५५ को पूर्वी नेपालमा गएको भूकम्प हो । जुन भूकम्पमा राजा अभय मल्लको मृत्यु भयो ।  त्यति बेला झन्डै एक तिहाई नेपाल क्षतिग्रस्त भएको इतिहासमा पाउँछौ । त्यसपछि पश्चिम नेपालमा गएको इस्वी सम्बत् १५०५ को भूकम्प जुन नेपाल भित्र गएको सबै भन्दा ठूलो भूकम्प भनिन्छ । जुन गएको ५२० वर्ष भन्दा बढी भइसक्यो । त्यस्तै गरेर १९९० सालमा संखुवासभाको चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको भूकम्प जसलाई हामी ९० सालको भूकम्प भनेर पनि चिन्छौ । त्यतिबेला झन्डै ८ हजार मानिसको मृत्यु भएको थियो । हजारौं भवनहरू भौतिक रुपमा क्षति भएको थियो । धरहरा पनि ढलेको थियो । जुन पछि पूनर्निर्माण गरियो । लगतै फेरि १८३३ अथवा १८९० मा अर्को भूकम्प गएको थियो । त्यसमा धेरै नै कम क्षति भएको पाइन्छ । त्यसको कारणहरु विभिन्न छन् । अहिले पछिल्लो पटक ०७२ सालको भूकम्प हो । यिनीहरू धेरै ठूला र क्षति गरेका भूकम्प हुन् । यसबाहेक पनि मध्य नेपालमा अरु भूकम्पहरु गएका तथ्यांकहरु छन् । 

Lok-Bijay-Adhikari-1768456109.jpg
डाक्टर लोक विजय अधिकारी (प्रमुख, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र , खानी तथा भूगर्भ विभाग)

भूकम्पबाट बच्न के गर्न सकिन्छ ?
भूकम्प जहिले पनि आउन सक्छ । हामी भूकम्पको जोखिममा छौं । भूकम्पबाट बच्न सबैभन्दा पहिला भौतिक संरचनाहरु बलियो बनाउनुपर्छ ।  सुरक्षित हुने मुख्य कुरा नै यही हो ।  तर यत्रो लामो समय देखि भूकम्प जादा पनि अहिलेसम्म किन बनेन त ?  प्रश्न आउछ । तर त्यो नबन्नुको कारण भूकम्प सम्बन्धी ज्ञानको कमी देखिन्छ । मानिस सबैले म जोखिममा छु भन्ने कुरा आफूले महसुस गर्नुपर्यो । त्यो महसुस भयो भने संरचनाहरु सुरक्षित बनाउन तिर लाग्छन् । जनतालाई सुसुचित गर्न र यो सम्बन्धी ज्ञान दिनको लागि हामीले भूकम्प सम्बन्धी शिक्षा दिन एकदम जरुरी छ । भूकम्प सम्बन्धी ज्ञान जनमानसमा पुर्याउन सक्यौ अथवा जनतालाई बुझाउन सक्यौ चने  भूकम्पबाट हुने क्षति कम गर्न सकिन्छ ।  सुरक्षित भवन बनाउनेतर्फ हामीले प्रगति गर्न सक्छौं । हाम्रो देशमा कानुन बन्या छ । भवन आचारसंहिता पनि छदैछ । ०७२ सालको भूकम्प जानु भन्दा पहिला भवन आचारसंहिता देशमा लागू भएको थिएन केही सिमित नगरपालिकामा बाहेक । तर ०७२ सालको भूकम्पपछि सरकारी रुपमा सबै नगरपालिकाहरुमा यसलाई लागू गर्नपर्छ भनेर लागू गरेको हामीले सुन्यौ पढ्यौं ।  तर लगतै बझाङमा गएको भूकम्पले फेरि के देखायो भन्दा त्यो कुरा केही सिमित सहरहरुमा मात्रै लागु भएछ । हामीले बनाएका कुराहरु, सिकाउनु पर्ने अथवा जनतालाई दिनुपर्ने सूचनाहरु दुरदराजसम्म अझै नपुगेको अनुभव भैरहेको छ । त्यसैले गर्दा भवन आचारसंहिता लागू गर्नु नै मुख्य कुरा भयो । भूकम्पसंग सुरक्षित हुन् एउटा सुरक्षित निर्माण गरेर भयो । अर्को भूकम्प जानु भन्दा अगाडि नै गर्ने कुरा भए । अनि भूकम्प जादा-जादै के गर्ने ?  भूकम्प गइसके पछि के गर्ने ? यी यावत कुराहरू, जानकारीहरु, सूचनाहरु जनमानसमा दिन सक्यौ र भूकम्प सम्बन्धी विधार्थीलाई केटाकेटी देखि नै जानकारी दिन सक्यौं, पढाउन सक्यौं भने अन्य मुलुकहरुमा जस्तै ठूलो भूकम्प जाँदा पनि क्षति कम भन्दा कम हुन्छ । त्यो अवस्थामा हामी पुग्न सक्छौ । 

नेपालमा भूकम्प कसरी मापन गरिदैंछ ?
नेपालमा भूकम्प मापन गर्नको लागि ४२ वटा सिस्मिक स्टेशनहरु ताप्लेजुङ देखि दार्चुलासम्म सथापना गरिएका छन् । तिनै ४२ वटा सेस्मिक इस्टेसनबाट भूकम्प जाने बितिकै भूकम्पको केन्द्रबिन्दु, उद्गम भएको समय, जति सक्दो छिटो सर्वसाधारणलाई र सम्बन्धित निकायलाई सूचना पुर्याउदै आइरहेका छौ । यसको अलावा भूकम्प सम्बन्धी केही जनचेतनाका कार्यक्रमहरु, भूकम्प सम्बन्धी अध्ययन अनुसन्धानहरुका कार्यहरु गरीरहेको अवस्था छ ।

अहिले नेपालमा भूकम्पको जोखिम र अवस्था कस्तो छ ?
नेपालमा हेर्दा अहिलेसम्म गएका भूकम्पलाई हेरेर हामी बोल्न सक्छौं । भर्खर ०७२ सालमा गएको भूकम्पले मध्य नेपालमा झन्डै आधा शक्ति गएको भन्ने थाहा पाएका छौं । अझै त्यो ठाउँमा  काठमाडौँ देखी दक्षिणतर्फ ०७२ सालमा जान नसकेको भूकम्पबाट भनेर भन्न सकिन्छ । त्यो शक्ति बाँकी रहेको अवस्था छ । त्यस्तै गरी पश्चिम नेपालकै कुरा गर्छौ जहाँ ५२० वर्ष भन्दा बढी समय भूकम्प गएको छैन । त्यसको अर्थ के हो भन्दा भूकम्प जान सक्ने शक्ति त्यो ठाउँमा संचित छ । त्यो शक्ति अब कहिले भूकम्प भएर जाने हो भन्ने कुरा थाहा नभएको अवस्था छ । जोखिमको क्षेत्र अर्को पश्चिम नेपाल भयो ।  जुन हाम्रो नेपाल मात्र नभएर गोर्खा देखि पश्चिम तर्फ देहरादुन देखि पूर्व तर्फको भागमा पर्दछ । 

पूर्वी नेपालमा झन्डै ९० सालको भूकम्प पछि ठूलो भूकम्प त्यहाँ नगएको अवस्था छ । अहिले १०० वर्ष देखिको भूकम्पीय शक्ति संचित छ । यो कुरा मैले किन सबै ठाउँमा भने त भन्दा धेरै वर्ष भयो भने यो शक्तिले ठूलो भूकम्प जान सक्छ , सम्भावना भयो । अब जुन ठाउँमा  हामीले १०० वर्षको कुरा गर्यौ पूर्वी नेपालमा भने सानो भूकम्प हाम्रो लागि ठूलै हुने अवस्था छ । जस्तो जाजरकोटमा गको भूकम्प त ठूलो भूकम्प होइन ।  त्यत्रो भूकम्प जानलाई त्यो भन्दा ठूलो भूकम्प जाने शक्ति हाम्रो नेपाल भरी सबै ठाउँमा छ । त्यो चाही जम्मा भएर बसेको अवस्था छ । तर यति हो की त्यो भूकम्प कहिले जान्छ भनेर भन्न सकिदैंन । आजको मितीसम्म संसार भरि नै त्यो प्रविधी नभएको हुदाँ सदैव भूकम्पीय जोखिममा छौं । त्यो जोखिमलाई हामीले कम गर्न तिरनै लाग्नु पर्ने हुन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update