Harsamaya
बन्दसूचीबाट १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेद्वारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् ।

नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेको सहायक प्रवक्ता जिसीले बताए ।  उक्त पार्टी अन्य दलसँग मिलेकाले पेस भएका ११० जना उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको जनाइएको छ । यसै गरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेकपा (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार/चार जना उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । यस्तै, नेपाली काँग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई÷दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update