Harsamaya
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै
इरानमा भएको प्रदर्शनमा मृत्यु भएङ्काहरू ।

एजेन्सी - इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न सकेका छन् ।

उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।

तेहरानका बासिन्दाका अनुसार मोबाइल फोनमार्फत बाहिर कल गर्न सकिए पनि सन्देश सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। इन्टरनेट पहुँच पनि सरकारी रूपमा स्वीकृत वेबसाइटसम्म सीमित रहेको बताइएको छ । करिब साढे चार दिन विश्वसँग सम्पर्क विच्छेद भएपछि राजधानीका प्रमुख सडक र चोकमा दंगा नियन्त्रण प्रहरी  तथा सादा पोसाकका सुरक्षाकर्मीको उपस्थिति देखिएको उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा केही बैंक तथा सरकारी कार्यालयमा आगलागी भएको, एटीएमहरू क्षतिग्रस्त भएको र इन्टरनेट बन्द हुँदा बैंकिङ सेवा प्रभावित भएको जानकारी दिइएको छ । यद्यपि, अधिकांश पसलहरू खुलेका छन्, तर ग्राहकको आवतजावत सीमित देखिएको छ । केही पसलेले बजार खोल्न सुरक्षाकर्मीबाट आग्रह आएको बताएका छन् ।

मानव अधिकारसम्बन्धी संस्थाहरूले प्रदर्शन सुरु भएयता धेरै व्यक्तिको ज्यान गएको र ठूलो सङ्ख्यामा मानिस पक्राउ परेको बताएका छन् । इरानी सरकारले भने यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच, इरानी अधिकारीहरूले अमेरिकासँग कूटनीतिक संवाद जारी रहेको बताएका छन्। अमेरिकी पक्षले आवश्यक परे विभिन्न विकल्प अपनाउन सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबारे नयाँ आर्थिक उपाय घोषणा गरेका छन् ।  

इन्टरनेट सेवा पूर्ण रूपमा सञ्चालनमा नआएकाले इरानभित्रको समग्र अवस्था बाहिरबाट मूल्यांकन गर्न अझै चुनौतीपूर्ण रहेको छ । तर नागरिकहरूले दिएका अनुभवले देशमा अवस्था संवेदनशील रहेको देखाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update