काठमाडौँ - पश्चिमी वायू तथा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण तराईका अधिकांश क्षेत्रमा आज हुस्सु तथा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले बिहानको समयमा दैनिक जनजीवन, यातायात तथा उडानमा असर पार्न सक्ने देखिएको छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ भने पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा बाक्लो हुस्सु देखिएको छ ।
महाशाखाले आज दिउँसोसम्म तराईका अधिकांश स्थानमा हुस्सु कायम रहने जनाएको छ। यस अवधिमा सवारी साधन चलाउँदा सतर्कता अपनाउन र दृश्यता कम हुने स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ।
राति पनि तराईका केही स्थानमा हुस्सु लागिरहने सम्भावना रहेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

