Harsamaya
पुस २६-२७ गते ट्रक यातायात व्यवसायी महासङ्घको महाधिवेशन
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।

महासङ्घको गत मङ्सिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारण सभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासङ्घले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।

महासङ्घले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारण सभा तथा महाधिवेशनमार्फत सङ्गठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्य योजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए।

यसैबिच महासङ्घको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासङ्घको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साधारण सभा तथा महाधिवेशनलाई सफल बनाउन महासङ्घले सबै सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update