काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी प्रवक्ता प्रकाश शरण महतले महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति माथि असन्तुष्टि जनएका छन् । सोमबार ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न बसेको बैठकमा पार्टी प्रवक्ता प्रकाश शरण अलि चर्को रूपमा प्रस्तुत भएका छन्। स्रोतका अनुसार आज महामन्त्री गगनकुमार थापासँग रुष्ट बनेका प्रवक्ता महतले थापामाथि एकपछि अर्को असन्तुष्टि पोखेका छन् ।
शुक्रबार पत्रकारमाझ महामन्त्री थापाले क्रियाशीलको विषयमा आफूले प्रवक्ता महतलाई माथि पढाएर आएको भन्ने अभिव्यक्ति दिएका थिए। महामन्त्री थापाले प्रवक्ता महतलाई बाहिर बकबक गर्दै नहिँड्न पनि चुनौती दिएका थिए। सोही विषयमा प्रवक्ता महतले आजको कार्यसम्पादन समिति बैठकमा प्रश्न उठाएको स्रोत बताउँछ। ‘समय लिएर बोल्दै डा सावले महामन्त्रीज्यूको अभिव्यक्तिमाथि कडा प्रतिवादन गर्नुभयो,’ स्रोतले भन्यो।
प्रवक्ता महतले आफू पार्टीको प्रवक्ता भएको र जिम्मेवार भएर मात्र पार्टीको धारणाहरू सार्वजनिक गरेको बताएका थिए। आक्रोशित हुँदै महतले महामन्त्री (गगन थापा)ले जे पनि बोल्न पाइने हो भन्दै प्रश्न गरेका थिए। ‘म जिम्मेवार भएर पार्टीको प्रवक्ताको रूपमा बोलेको छु। जे पनि आरोप लगाउन पाइन्छ भन्दै उहाँले आक्रोश पोख्नुभयो,’ स्रोतले भन्यो। महामन्त्री थापाले आफूमाथि मिडियामा लाञ्छना लगायतपश्चात् आफूले बैठकमा प्रतिवाद गर्नुपरेको महतले धारणा राखेका थिए।

