Harsamaya
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशभर पश्चिमी वायूको प्रभाव कायम रहँदा आजको मौसममा पनि पहाडी र हिमाली भू–भागमा चिसोको अनुभूति कायमै रहनेछ। मौसम पूर्वानुमानअनुसार आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसले हिमाली क्षेत्रमा चिसो अझ बढ्न सक्ने र जनजीवन केही प्रभावित हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

तराई भू–भागतर्फ भने बिहान तथा बेलुकीका समयमा हुस्सु र कुहिरोको प्रभाव रहने देखिन्छ। विशेषगरी सवारी आवागमन र दैनिक गतिविधिमा सतर्कता अपनाउन मौसम विभागले सुझाव दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायू सक्रिय रहेसम्म हिमाली क्षेत्रमा आंशिक बदली र हल्का हिमपातको क्रम दोहोरिन सक्ने भएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update