काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।
मोरङको विराटनगर मंगलबार आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार गृहमन्त्री अर्याल बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज त्यहाँ पुगेका हुन् । मोरङस्थित बुधनगरमा सन् २०२० देखि सञ्चालनमा आएको नेपाल-भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।
अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उनको भनाइ छ । शान्ति सुरक्षाको प्रत्याभूतिबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकाले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए ।
एक सय २९ बिघामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकर्षण भएकासमेत उनले बताए । त्यसका लागि गृह मन्त्रालयले अन्तरमन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने उनले उल्लेख गरे ।

