काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच सोमबार एकतासम्बन्धी ७ बुँदे सहमति भएको छ। परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुवै दल एकतामा सहमत भएका हुन्।
सहमति–पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ। घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह पनि घण्टी नै हुनेछ। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति गरिएको छ।
सहमति अनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ। यससँगै कुलमान घिसिङ औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा समेटिनेछन्।


