काठमाडौं - महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् ।
महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पूरा गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई पार्टी र देशलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ ।
उनले हालको सुरक्षा र राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म निर्वाचन सम्भव नहुने दाबी गरेका छन् । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने र चुनाव फागुनभन्दा वैशाखमा गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रका विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नु उपयुक्त नहुने बताएका छन् । उनले पार्टीभित्रका असहमतिहरू बैठकमै छलफल गरेर समाधान खोजिनुपर्ने बताउँदै आएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।

