काठमाडौं- १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बुधबार बसेको १२४औं बोर्ड बैठकले निर्धारित समयमै १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न तीव्र गतिमा काम अगाडि बढाउने निर्णय गरेको छ।
यसअघि राखेपको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।
बुधबार बसेको बोर्ड बैठकले निर्धारित समयमै १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न सात वटै प्रदेश खेलकुद विकास परिषद र तीन वटा विभागीय टोलीसँग पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल र खेलाडी संख्याको विषयमा टुङ्गो लगाउने जिम्मा राखेपको कार्यकारी समितिलाई दिएको छ ।
कार्यकारी समितिले सम्बन्धित पक्षहरूसँग छलफल गरी आगामी आइतबारसम्म १०औं राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल र खेलाडी संख्याको बारेमा टुङ्गाे लगाउनु पर्नेछ ।

