Harsamaya
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
पेट्रोल, डिजेल आयात गर्दै ट्याङ्कर ।

झापा - चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको छ ।

उक्त अवधिमा तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update