सिन्धुपाल्चोक- बागमती प्रदेश अन्तर जिल्ला स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप जिल्ला महिला भलिबल प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाले सहभागिता जनाउने भएको छ । धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा जिल्ला महिला भलिबल टोली सहभागी हुने भएको हो ।
पौष ९ देखि १२ गतेसम्म धादिङवेशीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनका लागि सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्ने १२ जना महिला भलिबल खेलाडी आज बलेफी कभर्ड हलमा छनोट गरिएको हो।
जिल्ला भलिबल संघ सिन्धुपाल्चोकका अध्यक्ष रमेश कुमार खड्काका अनुसार महिलालाई खेलकुद क्षेत्रमा निपुण बनाउँदै अगाडि बढाउने उद्देश्यले प्रतियोगितामा सहभागिता जनाइएको हो। उनका अनुसार जिल्लाका दुई क्षेत्रबाट छनोट गरिएका १६ जना खेलाडीलाई क्लोज क्याम्पमा सहभागी गराई अन्तिम रूपमा १२ जना खेलाडी छनोट गरिएको छ, र यही टोलीले प्रतियोगितामा सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्नेछ।
छनोट भएका खेलाडीहरूमा कञ्चना तामाङ, अनन्या लामा, सुमिता थापा मगर, मिङमार लामा, पासाङ डिकी तामाङ, ममता तामाङ, ग्याल्मो तामाङ, विनिता तामाङ, सृजना घले, युनिसा श्रेष्ठ, एलिना नेपाल र रिमा भुजेल रहेका छन्।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

