एजेन्सी - पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध अनुगमन समूहको प्रतिवेदन सार्वजनिक भएपछि एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा नोभेम्बरमा पेस गरिएको प्रतिबन्ध अनुगमन समितिको प्रतिवेदनअनुसार आइएस–के का प्रवक्ताका रूपमा पनि काम गरेका सुल्तान अजिज आजमलाई गत मे १६ तारिखमा पक्राउ गरिएको थियो । ती अधिकारीका अनुसार आजम प्रवक्ता मात्र नभई यस क्षेत्रका आइएस–के का शीर्ष नेतामध्ये एक मानिन्थे ।
ती अधिकारीले भने, ‘आजमको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले पक्राउपछिको सोधपुछ र अनुसन्धानलाई ध्यानमा राख्दै तत्काल सार्वजनिक गरिएको थिएन । यसले आतंकवादविरोधी कारबाहीमा नकारात्मक असर पर्न सक्थ्यो ।’ गुप्तचर अधिकारी तथा संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले आजम कुन देशमा पक्राउ परेका थिए भन्ने विषय भने स्पष्ट गरेको छैन ।
आइएस–के ले पछिल्ला वर्षहरूमा अफगानिस्तान, पाकिस्तान तथा अन्य केही मुलुकमा भएका सबैभन्दा भयावह आक्रमणहरूको जिम्मेवारी लिँदै आएको छ । तीमध्ये धेरै आक्रमणमा सर्वसाधारणलाई नै निशाना बनाइएको छ । सन् २०२४ को मार्चमा समूहका बन्दुकधारीहरूले मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण गर्दा १४० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् ।

