Harsamaya
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ।

धनुषा - मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन् । 

मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेशसभामा विद्यमान अवस्थाअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ । विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update