जनकपुर - भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले आइटी र स्टार्टअप क्षेत्रमा नेपाल र भारतले एक अर्कासँग समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।
भारत र नेपालका लागि संयुक्त रूपमा काम गर्दै आएका विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा मङ्गलवार भएको प्रविधि र स्टार्टअपमा नेपाल भारतबिच साझेदारी सम्बन्धी राउन्ड टेबुल छलफल कार्यक्रममा महावाणिज्यदूत मीनाले नेपाल र भारतबिच प्रविधि र रोजगारका अवसरहरूका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
नेबर फस्ट नीति अन्तर्गत भारतले नेपालसङ प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरूमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनीको सुरुवात मात्र नभएर दुवै देशको साझेदारीले लाखौँ मानिसले रोजगारी पाउने बताए ।
दुवै देशले सहकार्य गर्न सके नेपालमा आर्थिक क्रान्ति नै आउन सक्ने धारणा राखे । छलफलमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका पदाधिकारी एवं उद्योग र व्यापारसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरूको उपस्थित रहेको थियो ।

