Harsamaya
फागुन २१ को निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई अनुमति

काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ । जसमध्य  २७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्था छन् । 

आयोगको कात्तिक ११ गतेको निर्णयअनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेका संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिएको हो ।

आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले  निर्वाचन पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट १५ दिनको समयसीमा तोकी निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको जानकारी दिए । उनका अनुसार तीमध्ये निर्देशिकामा तोकिएका मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र अनुमति दिइएको हो ।

पर्यवेक्षणका लागि राष्ट्रिय संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, इन्सेक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), सुशासन महासंघ नेपाल, सञ्चारिका समूह नेपाललगायतलेअनुमती पाएका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा द कार्टर सेन्टर (अटलान्टा) संयुक्त राज्य अमेरिका, एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एनफ्रेल), द मल्टिडिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङ (म्यासाचुसेट्स) तथा इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update