काठमाडौं - सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने राजमार्ग खुलाउन स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको छ। शुक्रबार सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोट र स्थानीयहरुबीच कोदारीमा भएको वार्ता असफल भएको हो । वार्ता शनिबार ९ बजे फेरि बस्ने गरी टुंङ्गिएको छ ।
आजको वार्तामा स्थानीयले मेशिन नलगाई बाटो निर्माण गर्ने र सडक निर्माणको काम तुरुन्तै सुरु गर्नुपर्ने माग राखेका थिए । सो मागमा सहमत्ति गर्न नसकिने बताएपछि वार्ता भाँडिएको थियो ।
इको पहिरो नियन्त्रण र बस्ती सरंक्षणका लागि सडक डिभिजन कार्यालय चरिकोटले शुक्रबार नै टेन्डर आव्हान गरेको छ । विभागले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको छ । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने बताएपनि स्थानीयले मानेका छैनन् । ‘उनीहरू आजैबाट काम सुरु गर्नुपर्छ भन्ने अडानमा छन्’, ‘वार्तामा रहेका एक स्थानीयले भने, ‘सरकारी नियम अनुसार त्यो मिल्दैन ।’
नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेत नाका बन्द हुँदा एक सय कन्टेनर नेपाल आउन लागेका फलफूल बाटोमै कुहिने अवस्था भएको बताउँछन् । ‘सामान्य नीति नियमसमेतको ज्ञान नराखी तुरुन्तै काम सुरु गर्नुपर्ने माग उचित छैन’, उनले भने ‘नेताहरूले समेत उचाल्ने काम गरिरहेका छन् ।’ केही दिनअघि निवर्तमान सांसद माधव सापकोटा सुबोधले आन्दोलनरत स्थानीयको मागमा ऐक्यबद्धता जनाएको सामाजिक सञ्जालमा लेखेका थिए ।
कहिले बाढीले कहिले स्थानीयको अवरोधले तातोपानी नाकाबाट नियमित रुपमा आयात र निर्यात हुन सकेको छैन। वर्षामा पहिरोले दुख दियो अहिले स्थानीयले व्यापार गरेर खाने अवस्था नै रहेन बस्नेतले गुनासो गरे । संघले आकस्मिक बैठक बसेर केन्द्रीय सरकारलाई नाका बन्दबारे ध्यानाकर्षण गराएको थियो ।
तातोपानी नाकाबाट दैनिक २० देखि २५ वटा कन्टेनर नेपाल आउने गर्दथ्यो ।

