Harsamaya
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
तस्वीरः आयोजक

काठमाडौं- राजनीतिमा महिलाको संख्यात्मक मात्र नभइ गुणात्मक उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले महिला उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल प्रेस युनियनको महिला विभागले आयोजना गरेको राजनीतिमा लैङ्गिक विभेद र अबको राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले जनसंख्याका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोइराला पौडेलले संख्याका आधारमा राजनीतिमा महिलाले दह्रिलो उपस्थिति जनाउन व्यावहारिक समस्या भएको बताइन् । समाजमा लामो संघर्षबाट आएका महिलाको संख्या धेरै भएको भन्दै समयसँगै महिलाको नेतृत्व स्वीकार गर्ने क्रम बढेको समेत उनको भनाइ छ ।

‘संघर्षबाट आएका महिलाहरूको संख्या धेरै छ र पछिल्लो समय महिलाको नेतृत्व स्वीकार गर्ने क्रम पनि बढेकै छ‚’ उनले भनिन्‚ ‘यद्यपि संख्याका आधारमा राजनीतिमा महिलाको दह्रिलो उपस्थिति जनाउन व्यावहारिक समस्या भने रहेकै छ ।’

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए । जनसंख्याको आधारमा महिला सहभागिता बढाउनुपर्ने भन्दै उनले ३३ प्रतिशतले महिला सहभागिता न्यायोचित नहुने भएकाले ५० प्रतिशत पुर्‍याउनुपर्ने बताए ।

नेपालमा २००७ सालदेखिको आन्दोलनमा नै महिलाको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै महिलाको राजनीतिक इतिहास सही ढंगले लेख्नुपर्ने र त्यसको मूल्यांकन हुनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले महिलाको उपस्थिति क्रमश: बलियो बन्दै गएको भन्दै सुधारका लागि सबै पक्षको सहयोगको खाँचो रहेको बताए । कार्यक्रममा सहभागीहरूले महिला प्रतिनिधित्व बढाउने भए विद्यमान नीति कानूनलाई व्यावहारिक बनाउन सक्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस युनियनका सल्लाहकार अनिता विन्दु, विपुल पोखरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, नेपाल ट्रेड युनियनका उपाध्यक्ष राधिका कुइँकेल, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाल, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थी, प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफान लगायतले कानूनलाई व्यावहारिक बनाउन सके महिलाको प्रतिनिधित्व स्वतः बढ्ने पक्षमा धारणा राखेका थिए । 

उनीहरूले महिलाको उपस्थिति बलियो बनाउन सके परिवार, समाज र राष्ट्र निर्माणमा समेत सहज हुने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update