Harsamaya
‘जे माग्यो त्यो सिद्ध हुने’ दुप्चेश्वरमा १३ लाख भेटी संकलन
दुप्चेश्वर महादेव मन्दिर ।

नुवाकोट - धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख भेटी संकलन भएको छ ।

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी १२ लाख ८८ हजार १८० संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरबाट संकलन गरिएको नगद १२ लाख ५४ हजार ८० र कोषको बैंक खातामा क्युआरमार्फत ३४ हजार १०० भेटी संकलन भएको हो ।

जात्राको भेटी संकलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो । ‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करीब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।  

दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हारहारीमा तीर्थयात्री आउने र करिब रु एक लाख भेटी संकलन हुँदै आएको छ । हिन्दू र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update