काठमाडौं - सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त गरेको छ ।
आइतबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री जगदीश खरेलले शर्मालाई नियुक्तिपत्र दिएका हुन् ।
यसअघि मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन मन्त्री खरेलले आज नियुक्तिपत्र दिएका हुन् ।
नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउँदै उनले अध्यक्ष आइसकेपछि काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा रहेको धारणा राखे ।
उनले भने,‘नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने छ ,त्यो निर्माण गर्ने सन्दर्भमा संविधान कानुनले दिएको जिम्मेवारी पूरा गर्दै काउन्सिलले प्रभावकारी रुपमा काम गर्नुपर्ने छ । अब अध्यक्ष आइसकेपछि प्रेस काउन्सिलले प्रभावकारी ढंगले काम गर्छ भन्ने अपेक्षा छ ।’
उनले इतिहासमा रेकर्ड हुनेगरी काम गर्न अध्यक्ष शर्मालाई आग्रह गरे ।

