Harsamaya
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
शपथ लिँदै मधेशका मन्त्रीहरू ।

जनकपुर - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवसहित तीनजना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

गत शुक्रबार सात दलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्ण यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।

जनमत पार्टीबाट महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update